इलाममा बोलेरो दुर्घटना: चालक सहित ७ जना घाइते
इलाम । इलाम नगरपालिका–८ बज्रदेवीमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार साउन ७ गते दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो गाडी उकालोमा अनियन्त्रित भई सडकबाट करिब ६० फिट तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका करिब ४० वर्षीय नाजु आलम रहेका छन्। उनको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै सोही स्थानका करिब ४७ वर्षीय गोपालप्रसाद दुलालको निधार र दाहिने कुममा चोट लागेको छ। सुनसरीको धरान उपमहानगरपालिका–१० विशालपथकी ३६ वर्षीया रिता चेम्जोङको टाउको, निधार, दाहिने हात र बाँया खुट्टामा चोट लागेको छ।
गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ३३ वर्षीय रमेश चेम्जोङको बाँया खुट्टामा चोट लागेको छ। झापाको दमक नगरपालिका–७ श्रीपालीका २२ वर्षीय रोहिन लावतीको निधारमा चोट लागेको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१० विशालपथका ७३ वर्षीय महेशकुमार राईको टाउको, छाती र ढाडमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनका छोरा ३४ वर्षीय मनकुमार राईको दाहिने पातामा चोट लागेको छ।
प्रहरीका अनुसार सबै घाइतेहरू बोल्न सक्ने अवस्थामा रहेका छन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


