पाँचथरबाट भरुवा बन्दुक र गोली सहित एक जना पक्राउ
पांचथर । पाँचथर प्रहरीले भरुवा बन्दुक र छर्रा गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन ७ गते बिहान करिब ६:४० बजे कुम्मायक गाउँपालिका–२ गौरी गाउँ क्षेत्रमा भरुवा बन्दुक दुई राउन्ड पड्किएको जस्तो आवाज सुनेपछि प्रहरी टोली घटनास्थलतर्फ पुगेको थियो।
त्यसक्रममा सोही स्थानका करिब ४० वर्षीय चोककुमार शेर्मा भरुवा बन्दुक बोकेर आउँदै गरेको अवस्थामा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
शरीर तथा साथमा रहेको सामान जाँच गर्दा उनीबाट एक थान भरुवा बन्दुक र चार थान छर्रा गोली बरामद भएको प्रहरीले जनाएको छ।
घटनापछि कानुनी प्रक्रिया पूरा गरी शेर्मालाई बरामद बन्दुक र गोलीसहित नियन्त्रणमा लिइएको छ। यस सम्बन्धमा पाँचथर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


