जोरपाटीबाट एसएलआर राइफलका ६ राउण्ड गोली सहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एसएलआर (SLR) राइफलमा प्रयोग हुने ६ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नक्साल ज्यापुटोल घर भई हाल जोरपाटी टेलिकम नजिक डेरा गरी बस्दै आएका ४३ वर्षीय विकास महर्जन रहेका छन्।
प्रहरीका अनुसार ग्यास सिलिन्डर चोरीमा संलग्न रहेको आशंकाका आधारमा प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले महर्जन बस्दै आएको डेरा कोठामा खानतलासी गरेको थियो। सो क्रममा कोठाभित्रबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउण्ड गोली फेला परेपछि प्रहरीले गोली बरामद गर्दै महर्जनलाई पक्राउ गरेको हो।
पक्राउ परेका महर्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


