तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा

सञ्जय मिश्रा
,
रौतहट, ८ साउन।  नेपाल-भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै अधिकारीमाथि तस्करसँग मिलेमतो गरेको आरोप दोहोरिन थाले पछि रौतहटको सीमा सुरक्षा प्रणाली फेरि विवादको केन्द्रमा परेको छ।

 

पछिल्लो पटक बीओपी सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीच भएको भनिएको संवादको अडियो सार्वजनिक भएपछि सुरक्षा संयन्त्रमाथिको जनविश्वास नै कमजोर बन्न पुगेको छ।

 

सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियोपछि स्थानीयले निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको स्रोतले जनाएको छ। यद्यपि अडियोको आधिकारिक प्रामाणिकता भने सम्बन्धित निकायबाट पुष्टि भइसकेको छैन। त्यसैले अडियोको फरेन्सिक परीक्षणसहित वास्तविकता सार्वजनिक गर्नुपर्ने आवाज पनि बलियो बन्दै गएको छ।

छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न कर्मचारीमाथि कठोर कारबाही गर्ने नीति लिएका छन्। यही नीतिअनुसार बोहरामाथिको अनुसन्धान अघि बढाइएको सुरक्षा स्रोतको दाबी छ।

स्थानीय व्यापारी तथा सर्वसाधारणका अनुसार व्यक्तिगत प्रयोजनका लागि सीमाबाट ल्याइने सामान्य सामानमा सुरक्षाकर्मीले कडा जाँच गर्ने गरे पनि संगठित तस्करी गर्ने समूह भने निर्बाध रूपमा सक्रिय छन्। बङ्कुल, रामपुरखाप, सरमुजवा लगायतका नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक र हार्डवेयर सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम अझै रोकिएको छैन।

स्थानीय व्यवसायीको आरोप छ, संगठित तस्करी र सुरक्षा निकायभित्रको कथित साँठगाँठकै कारण राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ। उनीहरूका अनुसार सीमामा तैनाथ सुरक्षा संयन्त्रको प्रभावकारी निगरानी र जवाफदेहिता नहुँदा तस्करी नियन्त्रणको सरकारी दाबी व्यवहारमा कमजोर देखिएको छ।

जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२र८३ मा सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटले ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको छ। सोही अवधिमा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको तथ्यांक छ। यही तथ्यांकलाई आधार मान्दै केही स्थानीयले सशस्त्र प्रहरीको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।

रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर–११ गण मुख्यालय, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट ९बीओपी० र आठ वटा सीमा सुरक्षा पोस्ट सञ्चालनमा छन्। यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि सीमापार तस्करी र राजस्व चुहावट नियन्त्रण हुन नसक्नुले सुरक्षा रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ।

यसैबीच, अडियो सार्वजनिक भएपछि शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीलगायतको टोली बङ्कुल बजार पुगेर स्थानीय व्यापारी र सर्वसाधारणसँग छलफल गरेको थियो। छलफलका क्रममा स्थानीयले इन्स्पेक्टर बोहराको कार्यशैलीबारे गुनासा राख्दै ‘सरुवा मात्र होइन, दोषी प्रमाणित भए कानुनी कारबाही हुनुपर्छ’ भन्ने माग गरेका थिए।

यता प्रहरी प्रधान कार्यालयले पनि सीमामा बढ्दो गुनासा र आचरणविपरीतका गतिविधिबारे प्रश्न उठेपछि असारको अन्तिम साता रौतहटका विभिन्न युनिटका इन्चार्जसहित ४८ जना प्रहरी कर्मचारीको सरुवा गरेको थियो।

रौतहट भारत सीमा विगतदेखि नै संवेदनशील व्यापारिक र तस्करी मार्गका रूपमा चिनिँदै आएको छ। पछिल्ला वर्षहरूमा सुरक्षा निकायले अवैध सामान बरामद गरेको तथ्यांक सार्वजनिक गरे पनि तस्करी पूर्ण रूपमा नियन्त्रण हुन नसक्नु र बेला–बेलामा सुरक्षाकर्मीमाथि नै मिलेमतोको आरोप लाग्नुले सीमामा सुशासन र जवाफदेहिताको प्रश्नलाई थप गम्भीर बनाएको छ। यस घटनाको निष्पक्ष छानबिन र तथ्य सार्वजनिक हुन सके मात्र सुरक्षा निकायप्रतिको जनविश्वास पुनः स्थापित हुन सक्ने देखिन्छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।