विराटनगरबाट १०४ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ
मोरङ — विराटनगर महानगरपालिका–४ लालिगुराँस टोलबाट १०४ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित एक युवक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार ब्यूरोको शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले शुक्रबार विशेष सूचनाका आधारमा कारबाही गर्दै सुनसरीको दुहबी नगरपालिका–१२ निवासी २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरेको हो।
प्रहरीले यादवको साथबाट १०४ ग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।


