मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, दुई जना घाइते
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुवा घाइते भएका छन्।
शनिबार बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको प्रहरीले जनाएको छ।
पहिरोमा च्यापिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा घाइते भएका जगनाथ र सृजना बडुवालको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। साथै, थप पहिरोको जोखिम रहेकाले आसपासका आठ वटा घर उच्च जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।


