विराटनगर स्थित गोल्डेन अस्पतालमा आफैंलाई सिसा प्रहार गरेका लेटाङका राजेन्द्र राईको मृत्यु
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको छ। उनले विराटनगरस्थित गोल्डेन अस्पतालमा आफ्नै पेटमा सिसा प्रहार गरी आफूलाई गम्भीर घाइते बनाएका थिए।
प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको उपचारका लागि गोल्डेन अस्पतालमा बसेका थिए। साउन २ गते बिहान करिब ६ बजे अस्पतालको पछाडिपट्टि पुगेका उनले घरको झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए।
गम्भीर घाइते भएका उनलाई तत्काल सोही अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उपचारकै क्रममा शुक्रबार साँझ करिब ७ बजे उनको मृत्यु भएको हो।
मृत्युपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजेन्द्रले यस्तो कदम चाल्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


