२० वर्ष कैद सजाय पाएका जबरजस्ती करणी तथा हत्या मुद्दाका फरार कैदी पक्राउ
रौतहट — जबरजस्ती करणीपछि पाँच वर्षीया बालिकाको हत्या गरेको अभियोगमा २० वर्ष कैद सजाय भोगिरहेका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ का ३० वर्षीय प्रभु माझी २०८२ भदौ २४ गते GEN-Z आन्दोलनका क्रममा कारागार कार्यालय गौरबाट फरार भएका थिए।
उनीविरुद्ध २०६८ फागुन २५ गते तत्कालीन बगही गाविस–६ (हाल कटहरिया नगरपालिका–७) स्थित पोखरीको डिलमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले २० वर्ष कैद सजायको फैसला सदर गरेको थियो। सोही सजाय भुक्तान गरिरहेका बेला उनी फरार भएका थिए।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति करिब ११:३० बजे कटहरिया नगरपालिका–७ बगहीबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका माझीलाई बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय गौर बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


