सुनसरीमा करिब ८ लाख रुपैयाँ बराबरका भन्सार छलिका कपडा र तीन मोटरसाइकल नियन्त्रणमा
इनरुवा । सुनसरी प्रहरीले करिब ७ लाख ९५ हजार रुपैयाँ बराबरका भन्सार छलीका लत्ताकपडा र तीन थान मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान करिब ६ः१५ बजे इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध रूपमा भन्सार छलीका सामान राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी पुग्नेबित्तिकै को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झार्दै गरेका व्यक्तिहरू मोटरसाइकल र सामान छाडेर फरार भएका थिए।
प्रहरीले घटनास्थलबाट करिब ७ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरका ५४२ थान कुर्ता–सुरुवाल तथा तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी गरिएको छ। फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


