भारतीय कारबाट १०९ केजी गाँजा बरामद, दुई भारतीय पक्राउ
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको BR 09 M 3766 नम्बरको भारतीय कारलाई रोकी जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार कारको डिक्कीमा २३ वटा पोकामा लुकाइछिपाइ राखिएको करिब १०९ केजी (प्लास्टिकसहित) लागूऔषध गाँजा फेला परेको थियो।
घटनामा भारतको बिहार राज्य, सितामढी जिल्लाको समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमार पक्राउ परेका छन्। दीपक कार चालक रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा, प्रयोग गरिएको कार तथा पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


