मध्यपहाडी लोकमार्गमा बस–कार ठोक्किँदा कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता
सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बस र कार ठोक्किँदा कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको छ। दुर्घटनामा कारमा सवार तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११:४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बस र विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोट, मध्यपहाडी लोकमार्गअन्तर्गतको नम्बर नखुलेको कार एकापसमा ठोक्किएका हुन्।
दुर्घटनापछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। कार चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना सहयोगी (हेल्पर) नदीमा बेपत्ता भएका छन्।
घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर बस र बस चालक सिन्धुली फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ।
बेपत्ता भएका व्यक्तिहरू तथा नदीमा खसेको कारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।


