सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक बरामद
प्युठान — प्युठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइराखिएको अवस्थामा उक्त हतियार फेला पारेको हो।
बरामद गरिएका सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप रहेका छन्।
प्रहरीले बरामद गरिएका सबै हतियार तथा पार्टपुर्जा नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


