दुर्घटनामा परी घाइते भएका आफ्नै साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ
बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका आफ्नै सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो।
प्रहरी अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसारामलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरको सटरिङमा प्रयोग हुने काठ र मोटरसाइकलको चाबीले प्रहार गरेका तथा मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरेको खुलेको छ। त्यसपछि उनले शव सिँचाइ नालामा फालेर फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
घटनामा संलग्न गोविन्द जैसीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।


