भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान ठूलो बाढी आएको छ। तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको बताइएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो।
बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीका कारण रसुवाका टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, पहिरेबेँसी, खाल्टे, बेत्रावतीलगायतका क्षेत्र जोखिममा परेका छन्। यस्तै, नुवाकोटका नदी तटीय बस्तीहरू पनि जोखिममा रहेको बताइएको छ।
स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदीको बहाव बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

