सुनसरीको वराहक्षेत्रमा सर्पदंशबाट ९ वर्षीया छात्राको निधन
वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–३, देबिथान चौक निवासी ९ वर्षीया आवन्ति श्रेष्ठको सर्पदंशबाट उपचारका क्रममा निधन भएको छ।
मोहन श्रेष्ठकी छोरी आवन्तिलाई मंगलबार साँझ घरमै सर्पले टोकेको थियो। सर्पदंशपछि उपचारका लागि उनलाई इटहरीस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो। तर, १३ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार त्यहाँ नहुने भएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा आवन्तिको निधन भएको हो।
आवन्ति स्काई इङ्लिस स्कुलमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनको असामयिक निधनप्रति शोक व्यक्त गर्दै स्काई इङ्लिस स्कुल र भरौल बाल मन्दिर इङ्लिस स्कुलले आज एक दिनका लागि शोक बिदा दिएका छन्।

