बाढी प्रभावित क्षेत्रमा रहेका धनकुटेलीको विवरण माग्दै प्रशासनले जारी गर्यो सूचना
धनकुटा । रसुवागढी र भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले बाढी प्रभावित क्षेत्रमा पुगेका धनकुटेली नागरिकको अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ।
प्रशासन कार्यालयले बिहिवार सूचना जारी गर्दै धनकुटाबाट व्यापार, रोजगार, पर्यटन तथा अन्य कामका सिलसिलामा बाढी प्रभावित जिल्लामा पुगेका र आफन्तको सम्पर्कमा नआएका व्यक्तिबारे तत्काल सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको हो।
त्यस्ता व्यक्तिको अवस्थाबारे जानकारी वा खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारीको ९८५२०७०१७७, जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारीको ९८५२०८०८५५ तथा प्रहरी कन्ट्रोल १०० र ९८५२०६१७५५ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
यस्तै, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) को ०२६–५२३६३१ तथा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न सकिनेछ। सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. धनकुटाको ०२६–५२३२५५ र ९८५१२७२२४६ नम्बरमा पनि सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रशासनले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिको सकुशल उद्धारको कामना गरेको छ।
राष्ट्रिय संकट र विपत्तिको समयमा सामाजिक सञ्जालमा उत्तेजना, डर तथा निराशा फैलाउने क्षतविक्षत सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै प्रशासनले सबैलाई संयमता अपनाउन तथा उद्धार र राहत कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेको छ।



