धनकुटाको हिले स्थित मानव सेवा आश्रममा ६० वर्षीय निर्मल दर्नाल मृत फेला
धनकुटा,११ भदौ । धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित मानव सेवा आश्रममा आश्रित ६० वर्षीय निर्मल दर्नाल मृत अवस्थामा फेला परेका छन्।
जिल्ला झापा, शिवसताक्षी नगरपालिका–१ निवासी दर्नाललाई गत असार ११ गते आश्रममा ल्याएर राखिएको थियो। बोल्न नसक्ने दर्नालको पछिल्ला केही दिनदेखि स्वास्थ्य अवस्था खराब रहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब ६ बजे उनी सुतिरहेको स्थानमै मृत अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षकको कमाण्डमा सोको (Soco) सहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


