जीपीएसले देखायो चोरीको मोटरसाइकलको बाटो, शाखा अधिकृतको घरबाट बरामद

चन्द्रपुर, ११ भदौ । चोरी भएको मोटरसाइकलको खोजीमा जडान गरिएको जीपीएसले देखाएको लोकेसन पछ्याउँदै प्रहरी रौतहटको कटहरिया नगरपालिका–५ स्थित एक शाखा अधिकृतको घरसम्म पुगेको छ।

प्रहरीले उक्त घरबाट चोरीको मोटरसाइकल बरामद गर्नुका साथै शाखा अधिकृतका १४ वर्षीय छोरासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त टोलीले जीपीएसको लोकेसनका आधारमा बुधबार बिहान करिब ६ बजे फतुवा विजयपुर नगरपालिकामा कार्यरत शाखा अधिकृत हरेन्द्र प्रसाद यादवको कटहरिया ५ स्थित घरमा छापा मारेको थियो।

घरभित्र लुकाएर राखिएको अवस्थामा प्रदेश २–०३–००७ प ३६०० नम्बरको २२० सीसी पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल गरुडा नगरपालिका–५ निवासी तथा चन्द्रनिगाहपुरस्थित खुसी मार्टका सञ्चालक राकेश कुमार गिरीको रहेको खुलेको छ।

प्रहरीका अनुसार यादवले मोटरसाइकल घरअगाडि बेवारिसे अवस्थामा भेटिएको र आफन्तको हुनसक्ने ठानेर उनका कान्छा छोरा १४ वर्षीय गोलु यादवले घरभित्र राखेको बताएका छन्। सोही आधारमा प्रहरीले गोलुलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी शाखा अधिकृत यादवको ट्र्याक्टर चालकले समेत यस्तै मोटरसाइकल चलाउने गरेको जानकारी पाएपछि प्रहरीले कटहरिया–१ भसेढवा गाउँका २५ वर्षीय नितेश यादवलाई पनि पक्राउ गरेको छ।

मोटरसाइकल धनी गिरीका अनुसार भदौ १ गते चन्द्रनिगाहपुरस्थित अशोका होटलअगाडि मोटरसाइकल पार्किङ गरी खाना खान गएका बेला उनको मोटरसाइकल चोरी भएको थियो। चोरी भएपछि उनले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका थिए।

रोचक पक्ष के छ भने चोरी हुनुभन्दा दुई दिनअघि नै बिग्रिएर निष्क्रिय अवस्थामा रहेको मोटरसाइकलमा जडान गरिएको जीपीएस मंगलबार राति ९ः३६ बजे अचानक सक्रिय भएको थियो। जीपीएस सक्रिय भएको जानकारी पाएलगत्तै गिरीले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी र गिरीले जीपीएसको लोकेसन पछ्याएका थिए। जीपीएसले मंगलबार दिनभर गरुडा–कटहरिया क्षेत्रमा मोटरसाइकल ओहोरदोहोर गरेको देखाएपछि प्रहरीले लोकेसन पहिचान गरी रातभर सम्बन्धित घरको निगरानी गरेको थियो। बुधबार बिहान उज्यालो भएपछि घरमा छापा मार्दा मोटरसाइकल फेला परेको गिरीले बताए।

बरामद मोटरसाइकलको इन्जिन र चेसिस नम्बर आफ्नो मोटरसाइकलसँग मिलेको भए पनि नम्बर प्लेट परिवर्तन गरिएको र स्वरूपमा समेत केही फेरबदल गरिएको अवस्थामा फेला परेको गिरीको दाबी छ।

यता शाखा अधिकृत हरेन्द्र प्रसाद यादवले भने मोटरसाइकल चोरीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। उनका अनुसार घरअगाडि बेवारिसे अवस्थामा मोटरसाइकल देखेपछि आफन्तको हुनसक्ने ठानेर छोराले घरभित्र राखेका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मोटरसाइकलधनी गिरीको जाहेरीका आधारमा पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी मुद्दा दायर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ।

प्रहरीले मोटरसाइकल कसरी चोरी भयो, चोरीपछि कसरी शाखा अधिकृतको घरसम्म पुग्यो र घटनामा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धान पूरा भएपछि घटनाको वास्तविकता थप स्पष्ट हुने प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।