उदयपुरमा जंगलबाट एक हजार १२२ किलो गाँजा सहित तीन जना पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनको जंगलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।
सोमबार बिहान करिब ४ बजे शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएको थियो। टोलीले शान्तिवनको जंगलभित्र खोजतलास गर्ने क्रममा बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी फेला पारेको थियो।
प्रहरीका अनुसार गाडी नजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजाको तौल एक हजार १२२ किलो ६७ ग्राम रहेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–१ डाँडागाउँका अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।
प्रहरीले उनीहरूलाई गाँजा तथा बोलेरो गाडीसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरूले गाँजा कहाँबाट ल्याएका थिए र कहाँ लैजाने तयारी थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।


