विराटनगर स्थित इलाका प्रहरी कार्यालय रानीको प्रहरी परिसरभित्र प्रवेश गरी अस्पतालको स्टिकर उक्काउने युवक पक्राउ
विराटनगर । मोरङमा अनुसन्धानका लागि प्रहरी परिसरमा राखिएको मारुती भ्यानबाट अस्पतालको स्टिकर उक्काएको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको परिसरमा अनुसन्धानका लागि राखिएको को.१ च ६६२० नम्बरको मारुती भ्यानमा टाँसिएको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर उक्काउने विराटनगर महानगरपालिका–१४ का २८ वर्षीय रोहित यादवलाई पक्राउ गरिएको हो।
उक्त भ्यानसँगै ५० किलो २९० ग्राम गाँजा पनि अनुसन्धानका लागि प्रहरी परिसरमा राखिएको थियो।
प्रहरीका अनुसार यादव भदौ २२ गते अनधिकृत रूपमा प्रहरी परिसरभित्र प्रवेश गरी भ्यानमा टाँसिएको अस्पतालको स्टिकर उक्काउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ परेका यादवलाई जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

