मर्मतका लागि धादिङको परेवाटार–मास्टार सडक आज साँझ ६ बजेसम्म पूर्ण रूपमा बन्द
काठमाडौं, २३ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल भोटेकोशीको बाढीले बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सडक आज मर्मतका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक खण्डमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मका लागि सम्पूर्ण सवारी साधनको आवगमन पूर्ण रूपमा रोक लगाइएको हो।
सडक बन्द रहेको समयमा यात्रा गर्ने यात्रु तथा चालकहरूलाई धादिङबेंसी–सुनौलाबजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार सडक वा अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। सडक मर्मतका क्रममा यात्रु तथा सवारी चालकमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचनासमेत प्रकट गरेको छ।

