भोटेकोशी बाढीपीडितका लागि नेपाली रक्तदाता संघ यूएईको ५२ हजार सहयोग
सचिन्द्र श्रेष्ठ,युएई । भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाली रक्तदाता संघ यूएईले ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संघले बाढीपीडितका लागि संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाली महावाणिज्यदूतावास, दुबईका महावाणिज्यदूत श्री हरि ओडारी समक्ष हस्तान्तरण गरेको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली रक्तदाता संघ यूएईका अध्यक्ष गोपिनी शाह, उपाध्यक्ष सुनिता कार्की, संरक्षक सुनिलराज श्रेष्ठ तथा सल्लाहकारहरू कमल गिरी, दुर्गा सुनुवार , रमेश न्यौपाने लगायत बिभिन्न संघ संस्थाका प्रमुख़ तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।
सहयोग हस्तान्तरणका क्रममा संघका संरक्षक सुनिलराज श्रेष्ठले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्वसँगै सामाजिक उत्तरदायित्व समेत भएको बताए।
प्रवासमा रहे पनि मातृभूमिमा आइपरेको दुःख र विपत्तिप्रति नेपाली समुदाय सदैव संवेदनशील रहेको उल्लेख गर्दै श्रेष्ठले आवश्यकताको समयमा आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोग जुटाउँदै आएको बताए।
“विपद्को समयमा सहयोगको मूल्य रकमको आकारले मात्र निर्धारण हुँदैन। पीडित परिवारलाई कठिन परिस्थितिबाट अघि बढ्न यसले दिने आशा, भरोसा र आत्मबल अझ महत्वपूर्ण हुन्छ,” श्रेष्ठले भने।
संघकी अध्यक्ष गोपिनी शाहले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेको बताइन्। विपद्को समयमा प्राप्त हुने सहयोगले पीडितको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग गर्नुका साथै उनीहरूमा नयाँ आशा र आत्मविश्वास जगाउने उनको भनाइ थियो।
यसैबीच, नेपाली समाज यूएई तथा आबद्ध विभिन्न संघसंस्थाले समेत बाढीपीडितका लागि ५७ हजार ७७७ दिराम (करिब २४ लाख रुपैयाँ) सहयोग गरेका छन्। प्रवासमा रहेका नेपाली समुदाय तथा संघसंस्थाबाट जुटाइएको सहयोगले विपदमा परेका परिवारको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाली रक्तदाता संघ यूएईका अनुसार मातृभूमि संकटमा पर्दा प्रवासबाट बढाइएको सहयोग आर्थिक योगदानमा मात्र सीमित हुँदैन। यस्तो सहयोग आफ्नो माटो, समाज र समुदायप्रतिको आत्मीयता, जिम्मेवारी तथा मानवीय संवेदनाको अभिव्यक्ति समेत हो।
युएईमा रहेर नेपाली रक्तदाता संघले रक्तदान, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। नेपालमा आइपर्ने प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा समेत सहयोग गर्दै आएको संघले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
बाढी तथा प्राकृतिक विपद् बाट प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउन सरकारी तथा गैरसरकारी क्षेत्रसँगै प्रवासी नेपाली समुदायको सहयोग समेत महत्वपूर्ण हुने विश्वास गरिएको छ। प्रवासबाट प्राप्त यस्तो सहयोगले पीडित परिवारलाई राहतसँगै “हामी एक्ला छैनौँ” भन्ने आशा र भरोसा समेत प्रदान गर्ने अपेक्षा गरिएको छ।

