जीप दुर्घटना हुँदा ८ जना घाइते, दुईको अवस्था गम्भीर
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बुधबार बिहान करिब १०ः३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जीप ब्रेक फेल भएर सडकको नालामा खसी भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ९ जना सवार थिए।
दुर्घटनामा घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ।
घाइते हुनेमा सिरानचोक–२ काँउलेकी ८१ वर्षीया लालमाया गुरुङ र सिरानचोक–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे रहेका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै सिरानचोक–७ का ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ, सिरानचोक–७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली तथा उनकी २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

