उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्।
असोज २३ गते बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा त्रियुगा नगरपालिका–११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा दिउँसो १२:५६ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा ७० वर्षीया कन्नि सदा पनि घाइते भएकी छन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजातसमेत साथमा नराखेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

