काठमाडौंमा २१ किलो भन्दा बढी सुन जस्तो धातु सहित तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट २१ किलो ७५० ग्रामभन्दा बढी सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। बरामद धातुको बजार मूल्य ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा असोज २२ गते चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा कानुनी प्रक्रिया पूरा गरी छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय चाउ लोङछिन र ३७ वर्षीय वाङ चियानचेन रहेका छन्। उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातु २१ हजार ७५०.६८ ग्राम अर्थात् २१ किलो ७५०.६८ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिएको विवरणअनुसार बरामद धातुको असोज २२ गतेको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको छ।
प्रहरीले धातुसँगै नगद, ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरण र विभिन्न कागजातसमेत नियन्त्रणमा लिएको छ।
घर भाडामा लिएर धातु प्रशोधन गर्ने गरेको प्रारम्भिक अनुसन्धान
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँ नागरिक सु कानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी उक्त घर चार महिनाका लागि भाडामा लिएका थिए। उनले अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको खुलेको छ।
सु कान सन् २०२६ अगस्ट १५ मा चीन गएको र त्यसपछि नेपाल फर्किएको नदेखिएको प्रारम्भिक विवरण छ। उनले चीनमा चेन चिया लेलाई घरको चाबी दिएको र चेन चिया लेले हान फेई तथा चाउ लोङछिनलाई चाबी दिएर नेपाल पठाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हान फेई र चाउ लोङछिन सन् २०२६ सेप्टेम्बर २७ मा नेपाल आएका थिए भने सु कान अक्टोबर १ मा नेपाल आएको विवरण प्राप्त भएको छ। हान फेईले नेपाल आएपछि विमानस्थलबाटै विद्युतीय गाडी भाडामा लिएको पनि खुलेको छ।
अनुसन्धानमा हान फेईले आफू चेन चिया लेको निर्देशनमा काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले घरमा ल्याइने लेसिलो तथा अर्धतयारी अवस्थामा रहेको सुनजस्तो धातुलाई प्रशोधन गरी तयार पार्ने र तोकिएको स्थानमा पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपालमा उक्त धातु कहाँ पुर्याउने भन्ने निर्देशन चिनियाँ सन्देश आदानप्रदान गर्ने माध्यममार्फत चेन चिया लेले दिने गरेको उनीहरूले बताएका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरू, बरामद धातुको वास्तविक प्रकृति तथा कारोबारको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

