मोरङमा खैरो हेरोइन जस्तो पदार्थ सहित तीन जना पक्राउ
मोरङ । मोरङको रङ्गेली नगरपालिका–८ झमनपुरबाट खैरो हेरोइन जस्तो पदार्थ सहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २३ गते राति करिब ११:५५ बजे रङ्गेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को २ ह ४९८२ नम्बरको सिटी सफारीलाई इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गरेको थियो।
जाँचका क्रममा सिटी सफारीको पछाडिको सिटमुनि प्लास्टिकका दुई वटा पोकामा लुकाइराखिएको १० ग्राम १० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिटी सफारी चालक कानेपोखरी गाउँपालिका–७ निवासी २१ वर्षीय अर्पन जोगी तथा सिटी सफारीमा सवार पथरी शनिश्चरे नगरपालिका–१ निवासी रोशन विश्वकर्मा र रितेश लिम्बू रहेका छन्।
प्रहरीले सिटी सफारीसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

