ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो १२ः०५ बजे डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते चालक र सहचालकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। उपचारका क्रममा धादिङको सिद्धलेक गाउँपालिका–६ का करिब ३० वर्षीय चालक सञ्जीव मगरलाई दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा सोही ठाउँका २२ वर्षीय सहचालक प्रदीप विक गम्भीर घाइते भएका छन्। उनको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


