नियात्रा : भौंतारिँदै गरेको बाटो
तोमनाथ उप्रेती । बिहानै म घरबाट निस्किएँ। आकाशमा उज्यालो भर्खरै फैलिँदै थियो। सडक सुनसान थियो। चोकमा केही मानिसहरू आफ्नो आफ्नो गन्तव्यतिर हिँडिरहेका थिए। कसैको हातमा झोला थियो। कसैको काँधमा जिम्मेवारी। कसैको आँखामा सपना। तर सबै हिँडिरहेका थिए। मलाई अचानक लाग्यो, जिन्दगीमा हरेक मानिस भौंतारिइरहेको हुन्छ। फरक यति हो, कसैको भौंताराइ गन्तव्यतिर हुन्छ। कसैको भीडतिर। कसैको धनतिर। कसैको प्रसिद्धितिर। कसैको आत्मशान्तितिर। म पनि हिँडिरहेको थिएँ। तर आज मैले आफैँलाई सोधें म कुन बाटोमा भौंतारिइरहेको छु? बाटोले उत्तर दिएन। हावाले पनि केही भनेन। तर मनभित्र एउटा आवाज आयो “पहिले आफ्नो दिशा खोज।”
सहर पार गरेपछि बाटो खुला हुँदै गयो। पहाडको छेउबाट घाम झुल्कियो। मैले सोचें—मानिसले अरूलाई हेरेर आफ्नो बाटो किन रोज्छ? भीडले हौसला दिन्छ। तर कहिलेकाहीँ पहिचान पनि खोस्छ। अरूको नक्कल गर्दा हामी सफल देखिन सक्छौँ। तर आफ्नै मौलिकता हराउन सक्छ। कसैले हाम्रो कामको नक्कल गर्यो भने त्यसलाई अपमान ठान्नुपर्दैन। सम्भवतः हामीले केही प्रभाव पारिरहेका छौँ। तर अरूको प्रतिलिपि बनेर होइन। आफ्नै क्षमता खोजेर अघि बढ्नुपर्छ। संसारमा हरेक मानिसभित्र एउटा विशिष्ट शक्ति हुन्छ। कसैको शक्ति उसले स्वयं लुकाएको हुन्छ। कसैको शक्ति परिस्थितिले लुकाइदिएको हुन्छ। त्यसैले आफूलाई कमजोर ठान्नु पनि अज्ञानता हो। आफ्नो सम्भावना नचिन्नु पनि एक प्रकारको भौंताराइ हो।

(तोमनाथ उप्रेती)
बाटो उकालो लाग्यो। शरीर थाक्न थाल्यो। मैले एउटा ढुंगामा बसेर विश्राम लिएँ। अगाडि लामो पहाड थियो। त्यसलाई हेर्दै मैले सोचेँ सफलता वास्तवमा के हो? धेरै मानिस कमाउन चाहन्छन्। अझ धेरै कमाउन चाहन्छन्। अनि महँगा वस्तुहरू सस्तो लाग्ने अवस्थासम्म पुग्न चाहन्छन्। तर धन बढ्दै जाँदा चाहना पनि बढ्दै जान्छ। लोभको अन्त्य हुँदैन। मानिसले लोभ छोडेपछि मात्र उसले सम्पन्नताको वास्तविक अर्थ बुझ्न थाल्छ। धन साधन हो। साध्य होइन। कमाइले जीवन सहज बनाउन सक्छ। तर शान्ति किन्न सक्दैन। प्रतिष्ठा प्राप्त गर्न सकिन्छ। तर आत्मसन्तोष किनेर पाइँदैन। मैले आफ्नो खल्ती छामें। त्यहाँ केही थिएन। तर मनभित्र एउटा अनौठो शान्ति थियो। मलाई लाग्यो सम्पन्नता वस्तुहरूको संख्या होइन। आवश्यकताहरूको संयम पनि सम्पन्नता हो।
अझ माथि पुगेपछि बाटो चिप्लो भयो। म एकपटक लडेँ। हातमा सामान्य चोट लाग्यो। केही क्षण त्यहीँ बसेँ। लडेकोमा आफैँसँग रिस उठ्यो। तर फेरि उठेँ। अनि मनले भन्यो जसले कहिल्यै गल्ती गरेको छैन, उसले सम्भवतः नयाँ बाटो हिँड्ने जोखिम पनि लिएको छैन। असफलता अन्त्य होइन। प्रयासको प्रमाण हो। महानता कहिल्यै नलड्नुमा छैन। लडेपछि उठ्नुमा छ। जीवनमा कठिन संघर्ष आउँछन्। कहिलेकाहीँ लक्ष्य असम्भव जस्तो देखिन्छ। अरू मानिसहरू हाँस्छन्। प्रश्न गर्छन्। निरुत्साहित गर्छन्। तर यदि लक्ष्य सानो छ भने त्यसमा जोखिम पनि सानो हुन्छ। ठूलो सपना देख्दा केही मानिसले हाँस्नु स्वाभाविक हो। उनीहरूको हाँसोले हाम्रो लक्ष्यको मूल्य निर्धारण गर्दैन।
म फेरि हिँड्न थालेँ। केही टाढा एउटा नदी भेटियो। नदी चौडा थियो। पानी तीव्र थियो। म किनारमा उभिएर धेरैबेर पानी हेर्दै रहेँ। मनमा आयो केवल नदी हेरेर नदी पार गर्न सकिन्छ? सकिँदैन। जीवन पनि त्यस्तै रहेछ। योजना बनाएर मात्र यात्रा पूरा हुँदैन। इच्छा राखेर मात्र उपलब्धि आउँदैन। कर्म गर्नुपर्छ। पहिलो कदम चाल्नुपर्छ। सही समयको प्रतीक्षा गरिरहँदा जीवन नै बित्न सक्छ। पूर्ण समय कहिल्यै आउँदैन। परिस्थितिहरू कहिल्यै पूर्ण हुँदैनन्। अवसर आफँन ढोका ढकढक्याएर सधैँ आउँदैन। कहिलेकाहीँ ढोका आफैँ बनाउनुपर्छ। मैले जुत्ता खोलेँ। नदीमा पाइला राखेँ। पानी चिसो थियो। तर केही कदमपछि डर हरायो। मलाई लाग्यो—भयको अर्को किनारमा सम्भावनाको संसार हुन्छ।
नदी पार गरेपछि एउटा सानो बस्ती भेटियो। त्यहाँ एक वृद्ध मानिस चौतारीमा बसेका थिए। मैले उनलाई अभिवादन गरेँ। उनले मुस्कुराउँदै सोधे, “कहाँ जाँदै हुनुहुन्छ?” मैले भनेँ, “थाहा छैन।” उनी हाँसे। “त्यसो भए तपाईं धेरै मानिसजस्तै हुनुहुन्छ,” उनले भने, “गन्तव्य खोज्दै हुनुहुन्छ, तर दिशा खोज्नुभएको छैन।” उनको वाक्य मेरो मनमा बस्यो। मैले सोधेँ, “दिशा कसरी भेटिन्छ?” उनले भने, “आफूलाई अरूसँग तुलना गर्न छोडेपछि।” मलाई लाग्यो, मानिसको ठूलो दुःख तुलना हो। कसैको घर ठूलो। कसैको पद ठूलो। कसैको नाम ठूलो। कसैको सफलता ठूलो। तर आत्माको यात्रा तुलना गरेर हुँदैन। आफ्नो हिजोसँग आजलाई तुलना गर्नुपर्छ। आफ्नो कमजोरीसँग संघर्ष गर्नुपर्छ। अरूलाई जित्नु ठूलो विजय होइन। आफूभित्रको लोभ, क्रोध, भय र आलस्यलाई जित्नु ठूलो विजय हो।
वृद्धले एउटा सानो चाबी निकालेर देखाए। उनले भने, “कहिलेकाहीँ ठूलो समस्या खोल्न ठूलो शक्ति चाहिँदैन।” उनले चाबीको सानो घुमाइ देखाए। “सानो प्रयासले पनि ठूलो ताला खुल्न सक्छ।” म केही क्षण मौन भएँ। जीवनमा निरन्तर प्रयासको अर्थ त्यही रहेछ। प्रयास सानो हुन सक्छ। परिणाम तत्काल नदेखिन सक्छ। तर निरन्तरता आफैँमा शक्ति हो। चिम्टीभरि साहसले पनि निराशाको ढोका खोल्न सक्छ। एउटा फोन, एउटा पुस्तक, एउटा कदम, एउटा क्षमा, एउटा निर्णय। यिनै साना कुराले जीवनको दिशा बदल्न सक्छन्। त्यसैले प्रयास छोड्नु हुँदैन। मानिस धेरैपटक असफल भएर होइन, प्रयास गर्न छोडेर हार्छ।
बस्तीबाट बाहिर निस्कँदा साँझ पर्न थालेको थियो। आकाश सुनौलो थियो। मैले सोचेँ कर्म कस्तो हुनुपर्छ? उत्तर भित्रैबाट आयो,शान्त। आफ्नो काम गर। प्रचारको आवश्यकता छैन। संसारले प्रशंसा गरोस् वा नगरोस्। सूर्यले कहिल्यै आफ्नो प्रकाशको विज्ञापन गर्दैन। ऊ उदाउँछ। उज्यालो दिन्छ। अनि अस्ताउँछ। उसको कर्म नै उसको परिचय हो। हामी भने कामभन्दा पहिले घोषणा गर्छौँ। उपलब्धिभन्दा पहिले श्रेय खोज्छौँ। तर वास्तविक कर्मयोगी आफ्नो कामको आवाजभन्दा ठूलो परिणामको प्रतीक्षा गर्छ। सफलता आयो भने संसारले आफैँ बोल्छ। त्यसैले कर्म यति शान्तिले गरौँ कि सफलता स्वयंले हाम्रो परिचय बनाओस्।
रातको अँध्यारो बाक्लिँदै थियो। बाटोमा एउटा सानो पसलमा बत्ती बलिरहेको थियो। केही मानिसहरू त्यहाँ बसेर अरूको चर्चा गरिरहेका थिए। कसैको सफलताको आलोचना। कसैको असफलताको मजाक। कसैको चरित्रमाथि टिप्पणी। म केहीबेर सुनेँ। अनि चुपचाप अगाडि बढेँ। मलाई लाग्यो मानिसको ऊर्जा अरूलाई हेर्नमा धेरै खर्च हुन्छ। तर आफ्नो जीवन बनाउन समय कम हुन्छ। अरूको प्रशंसा नपाउँदा दुखी हुने र आलोचना हुँदा क्रोधित हुने मानिस बाहिरी प्रतिक्रियाको कैदी हो। साँचो स्वतन्त्रता अरूको प्रशंसा र निन्दाबाट माथि उठ्नु हो। आफ्नो कर्मको साक्षी आफैँ बन्न सक्नु हो। मानिसले आफूलाई प्रमाणित गर्न संसारभरि दौडिरहनु पर्दैन। काम बोल्न थालेपछि परिचय आफैँ बन्छ।
बाटोमा एक युवक भेटियो। ऊ निकै निराश देखिन्थ्यो। उसले भन्यो, “म धेरैपटक असफल भएँ।” मैले सोधेँ, “अनि?” उसले भन्यो, “अब के गर्ने थाहा छैन।” मैले उसलाई नदीको कथा सुनाएँ। पानी हेरेर नदी पार गर्न नसकिने कुरा बताएँ। उसले केहीबेर मौन भएर भन्यो, “तर सही बाटो थाहा छैन।” मैले भनेँ, “पहिलो पाइला चाल। बाटो हिँड्दै जाँदा पनि देखिन्छ।” जीवनको सम्पूर्ण नक्सा सुरुमै चाहिँदैन। एउटा सानो उज्यालो पर्याप्त हुन्छ। बाँकी बाटो क्रमशः खुल्छ। मानिसले भविष्यको सम्पूर्ण निश्चितता खोजिरहँदा वर्तमानको सम्भावना गुमाउँछ। प्रयास गर। सिक। गल्ती गर। सुधार। फेरि प्रयास गर। यही जीवनको वास्तविक गति हो।
त्यसपछि म एउटा मन्दिर पुगेँ। त्यहाँ घण्टी बजिरहेको थियो। धूपको सुगन्ध हावामा फैलिएको थियो। मानिसहरू प्रार्थनामा थिए। म पनि केहीबेर आँखा बन्द गरेर बसेँ। तर मैले कुनै भौतिक उपलब्धि मागिनँ। मैले एउटा मात्र कुरा मागेँ “हे परमात्मा, मलाई आफूलाई बुझ्ने बुद्धि देऊ।” त्यही क्षण मलाई लाग्यो, आध्यात्मिकता संसार त्याग्नु होइन। आफ्नो अहंकार त्याग्नु हो। अरूलाई हराउनु होइन। आफ्नो अज्ञानतालाई जित्नु हो। बाहिरी यात्राले ठाउँ परिवर्तन गर्छ। आन्तरिक यात्राले दृष्टि परिवर्तन गर्छ। शरीर बाटोमा हिँड्छ। आत्मचेतना प्रश्नभित्र हिँड्छ। यही यात्राले मानिसलाई भौतिक सफलताभन्दा परको अर्थ खोज्न सिकाउँछ।
मन्दिरबाट निस्कँदा एक वृद्ध साधुले मलाई भने, “पहिचान खोज्दै हुनुहुन्छ?” मैले मुस्कुराएर भनेँ, “सायद।” उनले भने, “पहिचान नामबाट आउँदैन। कर्मबाट आउँछ।” त्यो वाक्य मेरो मनमा गहिरो गरी बस्यो। पदले दिएको परिचय समयसँग बदलिन सक्छ। कुर्सी बदलिन्छ। कार्यालय बदलिन्छ। जिम्मेवारी बदलिन्छ। तर असल कर्मले बनाएको प्रतिष्ठा लामो समय बाँच्छ। मानिसले आफ्नो परिचय आफैँ घोषणा गरिरहनु पर्दैन। यदि आफ्नो परिचय बारम्बार सुनाउनुपर्छ भने सायद कर्मले अझै पर्याप्त आवाज निकाल्न सकेको छैन। त्यसैले पदभन्दा कर्म ठूलो हो। नामभन्दा चरित्र ठूलो हो। प्रसिद्धिभन्दा विश्वसनीयता ठूलो हो। मानिसले आफू को हो भनेर बताइरहनुभन्दा उसको जीवनले त्यो कुरा बोल्नु राम्रो हो।
म राति एउटा पहाडको टुप्पोमा पुगेँ। तल सहरका बत्तीहरू टल्किरहेका थिए। टाढाबाट हेर्दा सबै घर समान देखिन्थे। ठूलो र सानो छुट्याउन गाह्रो थियो। त्यही दृश्यले मलाई जीवनको एउटा गहिरो सत्य सम्झायो। दूरीले धेरै विभाजनहरू मेटाउँछ। नजिक हुँदा हामी पद, जात, सम्पत्ति, शक्ति र प्रतिष्ठा हेर्छौँ। टाढाबाट हेर्दा सबै मानिस एउटै उज्यालो खोजिरहेका देखिन्छन्। सुख खोजिरहेका छन्। प्रेम खोजिरहेका छन्। शान्ति खोजिरहेका छन्। त्यसैले अरूप्रति घृणा राख्नुको अर्थ छैन। ईर्ष्या गर्नुको अर्थ छैन। तुलना गर्नुको अर्थ छैन। सबैको यात्रा फरक छ। कसैको बाटो छोटो छ। कसैको लामो। कसैको उज्यालो छ। कसैको अँध्यारो। तर सबै यात्रु हुन्।
अचानक सम्झिएँ खुसी हुनु पनि एउटा आध्यात्मिक प्रतिरोध हो। अरूले हाम्रो असफलता चाहेको भए पनि हामी मुस्कुराउन सक्छौँ। अरूले हाम्रो पतनको प्रतीक्षा गरेको भए पनि हामी उठ्न सक्छौँ। अरूले हाम्रो आलोचना गरे पनि हामी आफ्नो कर्ममा स्थिर रहन सक्छौँ। कसैको डाहको सबैभन्दा ठूलो उत्तर हाम्रो निरन्तर प्रगति हो। तर त्यो प्रगति अरूलाई हराउनका लागि होइन। आफूलाई परिष्कृत गर्नका लागि हो। जीवनमा एउटा हारले सम्पूर्ण जीवनलाई परिभाषित गर्दैन। कहिलेकाहीँ एउटा सही निर्णयले धेरै गलत मोडहरूलाई अर्थपूर्ण बनाइदिन्छ। त्यसैले हार्दा पनि मुस्कुराउन सक्ने मानिस वास्तवमा भित्रबाट जितिसकेको हुन्छ। बाहिरी विजयभन्दा आत्मबल ठूलो विजय हो।
बिहान जुन बाटोबाट निस्किएको थिएँ, राति त्यही बाटो हुँदै फर्किएँ। बाटो उही थियो। तर म उही थिइनँ। बिहान म गन्तव्य खोज्दै निस्किएको थिएँ। राति मैले दिशा भेटेको थिएँ। मैले बुझें जीवनको यात्रा बाहिर जति हुन्छ, भित्र त्यति नै हुन्छ। कमाउनुपर्छ। तर लोभमा हराउनु हुँदैन। सफल हुनुपर्छ। तर अहंकारमा डुब्नु हुँदैन। ठूलो सपना देख्नुपर्छ। तर अरूलाई सानो ठान्नु हुँदैन। असफल हुन सकिन्छ। तर प्रयास छोड्नु हुँदैन। प्रशंसा पाइन्छ। तर त्यसको दास बन्नु हुँदैन। आलोचना हुन्छ। तर त्यसले आफ्नो आत्मविश्वास चोर्न दिनु हुँदैन। कर्म गर्नुपर्छ। शान्त भएर। प्रेम गर्नुपर्छ। निष्कपट भएर। सेवा गर्नुपर्छ। अपेक्षाविहीन भएर। अनि आफूलाई खोज्नुपर्छ। निरन्तर।
घरको ढोकामा पुगेपछि म केहीबेर रोकिएँ। यात्राले मलाई एउटा अन्तिम प्रश्न दिएको थियो—“तिमी कहाँ पुग्यौ?” मैले भित्रैबाट उत्तर दिएँ “म कतै पुगेको छैन। म अझै यात्रामै छु।” जीवनको सबैभन्दा ठूलो सत्य सायद यही हो। हामी सबै यात्रु हौँ। हामी सबै कुनै न कुनै बाटोमा भौंतारिरहेका छौँ। तर भौंताराइ पनि साधना बन्न सक्छ, यदि त्यसले आत्मबोधतिर लैजान्छ। सही बाटो त्यो होइन जहाँ कठिनाइ छैन। सही बाटो त्यो हो जहाँ कठिनाइले चेतना बढाउँछ। जहाँ असफलताले विनम्रता सिकाउँछ। जहाँ सफलताले सेवा सिकाउँछ। जहाँ धनले संयम सिकाउँछ। जहाँ पीडाले करुणा सिकाउँछ। जहाँ मौनताले आत्माको आवाज सुनाउँछ। र जहाँ “म” बिस्तारै “हामी” मा रूपान्तरण हुन्छ। त्यहीँबाट जीवनको वास्तविक यात्रा सुरु हुन्छ। बाहिरी बाटो एक दिन समाप्त हुन्छ। तर आत्माको यात्रा समाप्त हुँदैन। त्यो निरन्तर चलिरहन्छ।कर्मबाट ज्ञानतिर, ज्ञानबाट विवेकतिर, विवेकबाट करुणातिर, र करुणाबाट आत्मबोधतिर निरन्तर चलिरहन्छ।


