सुनसरीबाट ५७ किलो गाँजा र मोटरसाइकल बरामद, चालक फरार
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले ५७ किलो गाँजा र एउटा मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आशङ्का गरिएका दुवै मोटरसाइकलका चालक फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति ८:३० बजे देवानगञ्ज गाउँपालिका–४ मेहता टोलमा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्न खोज्दा चालक फरार भएका थिए। मोटरसाइकल जाँच गर्दा कालो प्लास्टिकमा बेरिएको ५१ किलो गाँजाजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, राति ८:४५ बजे देवानगञ्ज–६ रासीबाट साहेबगञ्जतर्फ जाने भित्री सडकमा अर्को मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि पहेँलो झोला फालेर फरार भएका थिए। उक्त झोलामा ६ किलो गाँजाजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेर थप अनुसन्धान भइरहेको छ। फरार चालकहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


