इलाममा धारिलो हतियार प्रहारबाट ५५ वर्षीय पुरुषको मृत्यु
इलाम। इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोङ गाउँपालिका–३ पात्लेडाँडा निवासी ५५ वर्षीय कमल परियार रहेका छन्। उनी आफ्नै घरको बरण्डामा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका हुन्।
प्राप्त विवरणअनुसार परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा शव फेला परेको थियो।
शनिबार बिहान ८ः३० बजे स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ। घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा परियार विगत चार वर्षदेखि आफ्नै घरमा एक्लै बस्दै आएको खुलेको छ।
घटनामा संलग्न व्यक्ति हालसम्म फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको कारण तथा संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।


