सुनसरीको केसेलिया खोलामा बोराभित्र भेटिएको शवको पहिचान खुल्यो, विराटनगरमा ब्याट्रीको कारोबार गर्थे
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका लालजी प्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार गुप्ता पछिल्लो ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गरी ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले आइतबार बिहान केसेलिया खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो।
एसपी मल्लका अनुसार प्रहरीले बिहान करिब १० बजे घटनाबारे जानकारी पाएको थियो। बोराभित्र शव फेला परेको घटनाको कारण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


