कोशी प्रदेशमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम, सतर्क रहन प्रशासनको आग्रह
सोलुखुम्बु । आगामी कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म कोशी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन, भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको सम्भावना रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार मान्दै प्रशासनले आवश्यक पूर्वसावधानी अपनाउन सर्वसाधारण, पर्यटक तथा सम्बन्धित व्यवसायीलाई अनुरोध गरेको हो।
भारी हिमपात र वर्षाका कारण चिसो बढ्नुका साथै पदयात्रा मार्ग जोखिमपूर्ण बन्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने प्रशासनले जनाएको छ।
प्रशासनले उक्त अवधिमा सम्भव भएसम्म पदयात्रा, भ्रमण तथा हिमाल आरोहणका कार्यक्रम स्थगित गर्न, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
त्यस्तै, हिमपात तथा हिमआँधीका कारण विद्युत्, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न तथा ट्रेकिङ, यातायात र होटल व्यवसायीलाई स्थानीय प्रशासनसँग समन्वयमा रहन भनिएको छ।
आपत्कालीन अवस्था आएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।



