धनकुटामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते, आरोपी फरार
धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार स्थानीय डम्बर कार्कीले आज दिउँसो करिब १२ बजे आफ्नी श्रीमती तारा कार्कीमाथि खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट ताराको टाउको र ढाडमा गम्भीर चोट लागेको छ भने देब्रे हातको कान्छी औँला छिनिएको छ। घाइते तारालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए।
श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि डम्बर फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक राजवंशीले बताएका छन्।


