अपडेट : सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय नागरिकको मृत्यु, तीन जना घाइते
सोलुखुम्बु, कात्तिक १७ गते। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए। दुर्घटनामा भारतको तमिलनाडु राज्यको चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ।
दुर्घटनामा न्युजिल्यान्डका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन्।
घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ।
त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
हेलिप्याडमा अवतरण गर्ने क्रममा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।


