दशौँ राष्ट्रिय खेलकुदका लागि कोशीबाट क्रिकेटका ४८ खेलाडी छनोट, मोरङका मात्रै १९ जना
पथरी, २ मंसिर । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशबाट क्रिकेटतर्फ महिला तथा पुरुष गरी ४८ खेलाडी पहिलो चरणमा छनोट भएका छन्। छनोट हुनेमा मोरङ जिल्लाका मात्रै १९ जना खेलाडी छन्।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले सार्वजनिक गरेको खेलाडी सूचीअनुसार महिला क्रिकेटतर्फ २२ जना र पुरुष क्रिकेटतर्फ २६ जना छनोट भएका हुन्।
मोरङबाट महिला टोलीतर्फ निशा शाह, खुसी राजवंशी, सुजना राजवंशी, वन्दना राजवंशी, फूलकुमारी राजवंशी, निरु राजवंशी, कृतिशा घामी, समीक्षा राई, टिका शाह, प्रिन्सा राना मगर र पूर्णिमा राजवंशी छनोट भएका छन्।
त्यसैगरी पुरुष टोलीतर्फ मोरङका दिपेश कँडेल, प्रतीक पोखरेल, पिर्दर्शन अन्सारी, साकिब हक, प्रेम कामत, महबुब बाबु इराकी, श्रवण किस्कु र कृतिक कामत छनोट भएका छन्। यसरी महिला र पुरुष दुवैतर्फ गरी मोरङका १९ खेलाडी पहिलो चरणको छनोटमा पर्न सफल भएका छन्।
मोरङका खेलाडीहरूको उल्लेख्य सहभागिताले जिल्लाको क्रिकेट खेल विकास र राष्ट्रियस्तरमा प्रतिनिधित्वको सम्भावनालाई थप उत्साहित बनाएको छ।

