झापामा धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
झापा । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
मंसिर २ गते राति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा दुर्घटना भएको हो।
राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–३ निवासी २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी गाउँपालिका–२ निवासी १७ वर्षीय अशोक राजवंशी रहेका छन्।
दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

