झापा र सुनसरीबाट ब्राउन सुगर सहित चार जना पक्राउ
विराटनगर, मंसिर ३ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
मंसिर २ गते झापाको मेचीनगर नगरपालिका–८ का ४२ वर्षीय दिलिप राजवंशीलाई १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको हो।
त्यस्तै, सुनसरीको बसपार्कस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का १८ वर्षीय दिपेश रिसिदेव, केराबारी गाउँपालिका–८ का १७ वर्षीय सुहन रम्तेल र इलामको रोङ गाउँपालिका–१ का २३ वर्षीय रचित भट्टराई रहेका छन्।
उनीहरूको साथबाट क्रमशः १ ग्राम १०० मिलिग्राम, १ ग्राम २१० मिलिग्राम र ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

