झापामा होटलको कोठाबाट लागूऔषध बरामद, इलामका युवक पक्राउ
झापा, मंसिर ३ । झापाको बिर्तामोडबाट खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित इलामका एक युवक पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट र होटलमा बसेको कोठाबाट समेत लागूऔषध बरामद गरेको छ।
मंसिर २ गते साँझ करिब ५ः४५ बजे बिर्तामोड नगरपालिका–५ गणपति रोडस्थित अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा इलामको रोङ गाउँपालिका–१ घर भई हाल बिर्तामोडको देउराली होटलमा बस्दै आएका २३ वर्षीय रचित भट्टराईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट प्लास्टिकसहित ८ ग्राम ९३० मिलिग्राम र प्लास्टिकबाहेक ४ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको थियो। त्यस क्रममा २३ हजार ५०० रुपैयाँ नगद र प्र.१–०१–०१२ प ५९०९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानका क्रममा भट्टराई सुत्ने होटलको कोठाको खाटमुनि पनि लागूऔषध लुकाएर राखेको खुलेपछि प्रहरीले मंसिर ३ गते उक्त कोठामा खानतलासी गरेको थियो। सो क्रममा प्लास्टिकसहित ६ ग्राम ९६० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ४९० मिलिग्राम थप पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले बरामद लागूऔषध, नगद र मोटरसाइकलसहित पक्राउ परेका भट्टराईमाथि आवश्यक अनुसन्धान अघि बढाएको छ।

