छोरा हराएको खबर गर्दा प्रहरी हवल्दारलाई गालीगलौज, सञ्चार शाखाका कर्मचारीमाथि विभागीय कारबाही अघि बढ्यो
रौतहट, ५ मंसिर। छोरा हराएको खबर गर्न प्रहरीलाई फोन गर्दा प्रहरी कर्मचारीबाटै गालीगलौज र दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि रौतहटमा एक प्रहरी हवल्दारमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोले आफूलाई सई बताउँदै सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेश प्रसाद यादवमाथि अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि घटना विवादमा तानिएको हो।
प्रहरी हवल्दार यादव आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखामा फोन गरेका थिए। सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै महतोले यादवमाथि गालीगलौज गरेको आरोप छ।
फोन संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै घटनाको आलोचना भएको छ। प्रहरी कर्मचारीले आपत्कालीन अवस्थामा सहयोग माग्न फोन गर्ने सहकर्मीमाथि नै दुर्व्यवहार गरेको भन्दै निष्पक्ष छानबिन र कारबाहीको माग उठेको छ।
सार्वजनिक अडियोमा यादवले फोनमा बोल्ने व्यक्तिको परिचय सोध्दै ‘हवल्दार साहेब कि असई साहेब ?’ भनेको सुनिन्छ। त्यसपछि आफूलाई सई बताउने महतोले बोल्ने शैलीप्रति आपत्ति जनाउँदै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ।
महतोले आफू सई भएको बताएपछि यादवले ‘जय नेपाल’ भनेको र छोरा हराएको विषयमा जानकारी गराउन खोज्दा गालीगलौज भएको अडियोमा सुनिन्छ।
प्रदेश प्रहरीको निर्देशनपछि छानबिन
घटनाको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन गर्न निर्देशन दिएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी एसएसपी प्रभु प्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा प्रयोग गरिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
अडियोमा सुनिएको संवाद प्रहरी आचरणविपरीत देखिएको भन्दै घटनाको वास्तविकता, जिम्मेवार कर्मचारी र सम्भावित लापरवाहीबारे सत्यतथ्य छानबिन गर्न निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ।
छानबिनबाट दोषी देखिने प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ संशोधनसहितको व्यवस्थाअनुसार आवश्यक कारबाही गरी त्यसको नतिजा यथाशीघ्र प्रदेश प्रहरी कार्यालयमा पठाउनसमेत निर्देशन दिइएको छ।
अडियो सार्वजनिक गरेको विषय पनि छानबिनमा
यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले हवल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका थिए। घटनाबारे थप बुझ्न हवल्दार यादवलाई समेत बोलाइएको उनले जानकारी दिएका थिए।
डीएसपी शाहीका अनुसार महतोबाट गल्ती भएको पुष्टि भए विभागीय कारबाही अघि बढाइनेछ। यद्यपि, हवल्दार यादवले संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषय पनि छानबिनको क्रममा उठाइएको छ।
यादव र महतोबीच कुनै पूर्वाग्रह रहेको हुनसक्ने आशंका व्यक्त गरिए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।
छोरा हराएको संवेदनशील अवस्थामा खोजी तथा उद्धारका लागि प्रहरीलाई सम्पर्क गरेका कर्मचारीमाथि नै दुर्व्यवहार भएको आरोपले प्रहरीको सञ्चार प्रणाली र कर्मचारीको व्यवहारमाथि प्रश्न उठाएको छ।
प्रहरी सञ्चार शाखामा आउने फोनलाई संवेदनशील रूपमा लिएर आवश्यक सूचना संकलन तथा सहयोग गर्नु प्रहरी कर्मचारीको जिम्मेवारी हो। घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिने व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग उठिरहेको छ।
