बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तान घाइते, आरोपी पक्राउ
दैलेख । दैलेखमा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमती र तीन सन्तानलाई घाइते बनाएका छन् ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा ३८ वर्षीय अम्मर सलामी मगरले आफ्नी श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा उनकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामी रहेका छन् ।
घरायसी विवादका क्रममा दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गर्दा चारै जना घाइते भएका हुन् । घाइते सबैको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु नगर अस्पताल, दैलेख पठाइएको छ ।
घटना गराउने अम्मर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको बन्चरोसमेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
