इटहरीबाट ब्राउन सुगर जस्तो पदार्थ सहित २७ वर्षीय युवक पक्राउ
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ सिमरवनाबाट लागूऔषध ब्राउन सुगर जस्तो पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१० घर भई हाल इटहरी उपमहानगरपालिका–५ सिमरवनामा बस्दै आएका २७ वर्षीय मन्जिल तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंसिर ७ गते दिउँसो १२:३० बजे लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र अस्थायी प्रहरी बिट हलगडाबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर शरीर खानतलासी तथा चेकजाँच गर्दा मलद्वारबाट ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थ फेला पारेको जनाएको छ ।
उनलाई बरामद पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
