धनकुटाबाट दुई जना सहित कोशीमा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
विराटनगर, मंसिर ८ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ११ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंसिर ७ गते ताप्लेजुङबाट ४ जना, धनकुटाबाट २ जना, झापाबाट २ जना र सुनसरीबाट ३ जना गरी जम्मा ११ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रतिवादीहरू विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका थिए । उनीहरूलाई कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
