दमकमा १० ग्राम ५२० मिलिग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ
झापा । झापाको दमकबाट १० ग्राम ५२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दमक नगरपालिका–९ प्रधान टोलका युनिक श्रेष्ठ, काठमाडौं महानगरपालिका–१० का २५ वर्षीय सहिल केसी र दमक नगरपालिका–५ गुँरास टोलकी अन्दाजी ४९ वर्षीया गीता देवी राय रहेका छन्।
प्रहरीका अनुसार मंगलबार राति करिब ९:३० बजे दमक नगरपालिका–९ प्रधान टोलस्थित युनिक श्रेष्ठको घरकोठामा खानतलासी गर्ने क्रममा सहिल केसीको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध दमक नगरपालिका–५ गुँरास टोलकी गीता देवी रायबाट खरिद गरी ल्याएको खुलेपछि प्रहरीले उनको डेरा कोठामा समेत खानतलासी गरेको थियो। सो क्रममा थप लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
दुवै स्थानबाट बरामद गरिएको लागूऔषधको कुल तौल १० ग्राम ५२० मिलिग्राम रहेको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
