महिलाको गोप्य तस्बिर र भिडियो सार्वजनिक गरेको आरोपमा इलामका युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा महिलाको गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा इलामका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका–९ का स्थायी बासिन्दा, ३७ वर्षीय विमल दर्जी रहेका छन्। हाल काठमाडौं बस्दै आएका उनलाई नेपाल प्रहरी साइबर ब्यूरोको टोलीले मंसिर १० गते सिनामंगलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दर्जीले नक्कली टिकटक आईडी बनाएर महिलाका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
नेपाल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन डिजिटल स्वाभिमान’ अभियानअन्तर्गत सामाजिक सञ्जालमा महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार, गोपनीयता उल्लङ्घन र चरित्रहत्यासम्बन्धी घटनाको अनुसन्धान तथा कारबाहीलाई तीव्र बनाएको छ।
