कोशीमा लागूऔषध कारोबारमा संलग्न ३ महिला सहित ९ जना पक्राउ
विराटनगर, मंसिर १३। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध बेचबिखन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ महिलासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको रामधुनी नगरपालिका–५ बाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको टोलीले इनरुवा–३ का अमित अधिकारी र रोहन पोदारलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट १४ ग्राम ७० मिलिग्राम ब्राउन सुगर र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, बराहक्षेत्र नगरपालिका–४ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले लागूऔषध मुद्दामा फरार प्रतिवादीसमेत रहेका भगत चौधरीलाई ३ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
झापाको बिर्तामोड नगरपालिका–५ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले मेचीनगर–१५ की पार्वता राजवंशीलाई १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र नेपाली नगद १३ लाख ३९ हजार रुपैयाँसहित पक्राउ गरेको छ।
यस्तै, मेचीनगर नगरपालिका–६ बाट ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित मेचीनगर–२ का सचिन राई तथा दमक–७ का मिना राई र प्रतिमा राई पक्राउ परेका छन्।
मोरङको बेलबारी नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय बेलबारीले विवेक सिलवाल र सागर शंकरलाई २२९ क्याप्सुल ट्रामाडोल र २२८ ट्याब्लेट स्पास्पेनसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
