झापाको बिर्तामोडबाट ब्राउन सुगर जस्तो पदार्थ र १३ लाखभन्दा बढी नगद सहित महिला पक्राउ
झापा, मंसिर १३। झापाको बिर्तामोडबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषध र १३ लाखभन्दा बढी नगदसहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंसिर १२ गते साँझ बिर्तामोड नगरपालिका–५ जिराइत टोलमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले ३६ वर्षीया पार्वता राजवंशीलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो।
मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी स्थायी घर भई बिर्तामोड–५ मा भाडाको कोठामा बस्दै आएकी राजवंशीको साथबाट प्लास्टिकसहित २२ ग्राम २७० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
उनको कोठा खानतलासी गर्दा लागूऔषध लतपतिएको छुरी, कैँची, डिजिटल तराजु, नेपाली रुपैयाँ १३ लाख ३९ हजार, एक थान सादा मोबाइल र एक थान भिभो टच मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी राजवंशीलाई बरामद सामानसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
