‘देशको अवस्था हरेक कोणवाट सही भए मात्र सवैको पेशा व्यवसाय पनि सही हुन्छ’
नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल प्रेस युनियन धनकुटाद्वारा शुभकामना तथा वधाई ज्ञापन
धनकुटा खबर, फागुन १३ । नेपाल पत्रकार महासंघ धनकुटाको १० औं जिल्ला अधिवेशनवाट निर्वाचित केन्द्रिय सभाषद,प्रदेश सभाषद तथा जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी नेपाल प्रेस युनियन धनकुटाले आज शूभकामना तथा वधाई ज्ञापन गरेकोछ ।
सांसद मनोहर नारायण श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेलाको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई सम्वोधन गर्दै सांसद श्रेष्ठले देशको अवस्था हरेक कोणवाट सही भए मात्र सवैको पेशा व्यवसाय पनि सही हुने वताउनुभयो । उहाँले अहिलेको कर्मचारी आन्दोलनको विषयलाई जोड्दै वर्तमान अवस्थामा राष्ट्रको आवश्यक्ता के हो भन्ने वुझी सञ्चारकर्मीहरुले आवश्यक्ता अनुसारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेसनवाट निर्वाचित पदाधिकारीहरुलाई शूभकामना तथा वधाई दिदै उहाँले भ्रष्टचार न्यूनिकरण गर्नमा सञ्चारकर्मीको भूमिका अझ महत्वपूर्ण हुने भएकोले ईमान्दारिता र जवाफदेहितालाई ध्यानमा राखी कलम चलाउन सुझाव पनि दिनुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा नेपाली कंग्रेस जिल्ला सभापति अग्नि प्रसाद पौडेलले विगतका कमीकमजोरीलाई सच्याउदै पत्रकारिताको माध्यमवाट जिल्लाको विकास र पत्रकार महासंघको उन्नती तर्फ लाग्न सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली कंग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले पनि निर्वाचित पदाधिकारीहरुलाई वधाई दिदै महासंघको तीन वर्ष कार्ययोजना निर्माण गरी अघि वढ्न कार्य समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कंग्रेस महासमिति सदस्य आनन्द सन्तोषी राई,पत्रकार महासंघका संस्थापक सञ्जय सन्तोषी राई, नेपाली कंग्रेस जिल्ला कोषध्यक्ष दिनेश राई, पत्रकार महासंघका पूर्व अध्यक्ष मोहन वान्तावा,नेपाली कंग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली,साझा सञ्चार नेपाल धनकुटाका अध्यक्ष भेषराज कट्टेल,प्रेस चौतारी नेपालका उपाध्यक्ष रविन कट्टेल र प्रेस सेन्टरका प्रतिनीधि दिल वहादुर राई लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।
पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,उपाध्यक्ष नगेन्द्र राई,महिला उपाध्यक्ष सुख कला राई लगायत सञ्चारकर्मीहरुको उपस्थितीमा सञ्चालित कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियनका सहसचिव नरेन्द्र कश्चितले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष हरि वहादुर लम्जेलले राख्नुभएको थियो ।


