धनकुटाबाट वर्षेनि लाखौं रुपैंया भारत जाँदै !
धनकुटा खबर, २१ फागुन । नेपाल रोजगारी पाईएन भनेर दिनाँनुदिन लाखौँ नेपाली वैदेशिक रोजगार गइरहेको बेला धनकुटा उद्योगहरु भने विदेशी कामदारको भरमा सञ्चालन भइरहेका छन् । नेपाली कामदारमा दक्षता नहुने, भएकाहरुले पनि स्थाई रुपमा काम नगर्ने र बढि कमाउने लोभमा विदेश पलायन हुने भएपछि धनकुटाका उद्योगहरु भारतिय कामदारको भरमा उद्योग चलाउनुपर्ने बाध्यता रहेको छ । नेपाली कामदारको अभावमा भारतिय मजदुरको भरमा उद्योग चलाउनुपर्ने बाध्यता संगै धनकुटाबाट बर्सेनी लाखौं रुपैंया भारत जाने गरेको छ । नेपाली युवाहरुमा बैदेशिक रोजगारको मोहका कारण दक्ष जनशक्ति वैदेशिक रोजगारमा पलायन हुने र भारतबाट आएका कामदारहरु स्थायी रुपमा बसेर काम गर्न थालेपछि भारतिय कामदारकैे भरमा भएपनि उद्योग चलाउनु परेको उद्योगीहरु बताउछन ।

धनकुटाको सिंधुवामा १ अर्व २५ करोड लगनीमा २०६४ सालदेखि सन्चालित रहेको धनकुटाको एक मात्र सिमेन्ट उद्योग निगाले सिमेन्ट उद्योग भारतिय कामदारको भरमा चलाउनु पर्ने बाध्यता रहेको छ । दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगमा दैनिक ८० जना कामदार आवश्कता रहेको छ । तर, हाल कामदार अभावमा दैनिक ३ हजार बोरा सिमेन्ट मात्र उत्पादन गर्दै आएको यस उद्योगमा हाल ४५ जना कामदार कार्यरत छन् । नेपाली दक्ष कामदारको अभावमा उद्योगले महत्वपूर्ण कामको लागि भारतीय कामदार राख्नु परेको सन्चालक दिनेश पौडेलले जानकारी दिए । हाल कार्यरत मजदुर मध्ये २० जनालाई भारतको दिल्ली र ब्याङलोरबाट ल्याएर नेपालका अन्य २५ जनालाई तालिम दिईरहेको उनले जानकारी दिए । उनले भने “मुख्य काम गर्ने भारतीय कामदारहरु भएनन् भने उद्योग बन्द गर्नुको बिकल्प हुन्न ।” लामो समय देखि भारतीय दक्ष जनशक्तिबाट नेपालीलाई काम सिकाएर दक्ष बनाएपनि काम सिकेर बिदेश पलायन हुने सम्स्याका कारण पटक–पटक भारतीय मजदुरहरुकै भर पर्नुपरेको पौडेलको भनाई छ । माछापुछ्रे्र, सिटिजन, प्राईम बैंक र तायल ग्रुपको लगानी रहेको यस उद्योगबाट बार्षिक ६० लाख भन्दा बढी रुपैंया भारत जाने गरेको पौडेलले जानकारी दिए ।
त्यस्तै २०६७ सालमा करिब ९० लाखको लगानीमा स्थापित धनकुटाको एक मात्र ईंटा उद्योग पान ईटा उद्योगले हालसम्म दक्ष कामदारको अभावकै कारण लक्ष्यअनुसारको ईटा उत्पादन गर्न नसकेको जनाउँदै आएको छ । धनकुटा नगरपालिकाको बेलहारा गुठीटारमा स्थापित उक्त उद्योगको बार्षिक १२ लाख ईंटा उत्पादन गर्ने क्षमता भएपनि कामदारको अभावमा हाल सम्म ९ लाख भन्दा बढी ईंटा उत्पादन गर्न नसकेको उद्योगले जानकारी दिएको छ । नेपालमा दक्ष कामदार नपाउने र भारतबाट अग्रिम बुकिङ्ग गरेर ल्याएका कामदारले समेत बेला–बेलामा धोका दिने भएकाले उद्योगले उद्योगले पूर्ण क्षमतामा ईंटा उत्पादन गर्न नसकेको सन्चालक नारायणजुन राईले जानकारी दिए । “अग्रिम पैसा दिएर बुकिङ्ग गरेको कतिपय कामदार नआउँदा उद्योगलाई बर्षेनी आर्थिक नोक्सानी हुने गरेको छ ।” उनले भने “आएका कामदारहरुले पनि बिचमा काम छाडेर भाग्ने समस्याले उद्योग भारतिय कामदारको ताकमा चल्न बाध्य छ ।” हाल १ करोड १५ लाख लगानी पुगेको यस उद्योगलाई काम गर्न दैनिक ६० जना कामदार आवश्यक परेपनि हाल ४५ जना मात्र भारतीय कामदार रहेको राईले जानकारी दिए । भारतको बिहार, दरभङ्गाका मजदुरहरु मार्फत्् यस उद्योगबाट बार्षिक २५ लाख भन्दा बढी रकम भारत जाने गरेको उनले बताए ।

