बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा

भक्तपुर, १६ चैत । मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गर्नुभएको छ ।

आज कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार रहेको बताउनुभयो ।

विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बाँस श्रेष्ठले श्रीमती र भाउजू बिरामी भएका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि जात्रालाई निरन्तरता दिन उहाँले आज जिब्रो छेड्ने घोषणा गर्नुभएको हो ।

एम्बुलेन्स चालक सङ्घ भक्तपुरका अध्यक्षसमेत रहनुभएका बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो ।

जुजुभाईले जिब्रो नछेड्ने बताएपछि मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, कोरिया–नेपालमैत्री अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशन, अस्पतालका प्रशासन प्रमुख कैशाल दासले जात्राका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै परम्परा नरोक्न आग्रह गरेपछि आफू जिब्रो छेड्न तयार रहेको बताउनुभयो ।

त्यसअघि अर्थात २०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर यो परम्परा जोगाउनु भएको थियो । उहाँले अहिले जिब्रो छेडाउने कार्य गर्दै आउनु भएको छ ।

परम्परा जोगाउन मध्यपुर थिमि नगरपालिकाले गत वर्ष रु ४४ हजार सहयोग गरेको बताउँदै यसवर्ष पनि जिब्रो छेड्ने जात्राका लागि रकम बढाएर सहयोग गर्ने वचनबद्धता नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले जनाउनुभयो ।

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरव मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि आउँदो वैशाख २ गते मध्याह्न १२ देखि १ बजेको बीचमा हजारौँ मानिससामुन्ने बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नाय्खिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

देवगणको पूजा एवम् प्रार्थना गरी हजारौं मानिसहरूकै अगाडि नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाई राखेको १० ईन्च लामो सुइरोबाट जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुमाउने गरिन्छ । करिब एक घण्टा पछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाउने र जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।