६ बर्षीय छोराको हत्या गरेको आरोपमा बाबु–आमा पक्राउ
३ वैशाख । छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ४० वर्षीय श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २२ वर्षीय रीनादेवी राउतले छ वर्षीय छोरा ‘कृष’ भनिने केशव राउतको हत्या गरेको आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको हो ।
छोराको हत्या गरी शवलाई सेफ्टीट्याङ्कीमा फालेर छोरा हराएको भन्दै रीनादेवीले शनिबार नै वडा प्रहरी कार्यालय मुजेलियमा उजुरी दिएकी थिइन् । बालकको शव भेटेलगत्तै प्रहरीले बालकका बाबु र सौतेनी आमालाई पक्राउ गरेको हो ।
बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गराई कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


